ग्रामीण मिडिया गुफा २०१५ सम्पन्न
Updated: 03/25/2015

ग्रामीण मिडिया गुफा २०१५ मार्च २१ देखि २४ तारिखसम्म महोत्तरी जिल्लाको सुगा भवानीपट्टी गाउँ विकास समितिमा सम्पन्न भएको छ। छैटौं संस्करणको ७२ घण्टे ग्रामीण मिडिया गुफा कार्यक्रम यसपाली मध्य तराइमा आयोजना गरिएको थियो।

ग्रामीण मिडिया गुफामा देशका विभिन्न क्षेत्रका सञ्चार माध्यममा कार्यरत ५ जना पत्रकारहरु र १ जना स्वतन्त्र व्यावसायीको सहभागिता रहेको थियो।

बैतडीका लोकेश साउद (एभिन्युज टिभी र दिनेश एफएम), पर्सा, वीरगञ्जकी विम्मी शर्मा (हिमाल खबरपत्रिका), काठमाडौंकी प्रतिमा सिलवाल (चत्रपथ डटकम), महोत्तरीका नगेन्द्र कुमार कर्ण (विश्व जागरण दैनिक) र दोलखाका दिलबहादुर केसी (कारोवार आर्थिक दैनिक) रिपोर्टिङ र लेखन च्यालेञ्जमा सहभागी हुनुभएको थियो। त्यसैगरी धादिङबाट स्वतन्त्र व्यावसायी बाबुराम फ्युवाले पनि सक्रिय सहभागिता जनाउनुभएको थियो।

रिपोर्टिङ र लेखन च्यालेञ्जका लागि सहभागीहरुले गुफास्थल सुगाभवानीका टोलटोलमा, घरघरमा, र स्थानीय समुदायको घरदैलोमै पुगेर उनीहरुका समस्या (इस्यु) को पहिचान गरेका थिए। स्थानीय वासिन्दासँग छलफल गरेका थिए। समुदायकै समस्याकाबारेमा प्रत्यक्ष कुराकानी र उनीहरुका समस्याको अवलोकन, रिपोर्टिङ गरेका थिए। समस्याकाबारेमा स्थानीय स्रोतव्यक्ति वा जानकार व्यक्तिहरुलाई भेटेका थिए।

समुदायकै जनसहभागिताको आधारमा उनीहरुकै समस्यावारे लेखनका विविध विषय तयार गरेका थिए। सहभागीहरुले छलफलका आधारमा स्थानीय समस्याको आँकलन गरेका थिए।

गुफा सहभागीहरूले समुदायको सहयोगमा पहिचान भएका २७ वटा विविध विषयमाथि पुनः गहन छलफल गरे। समस्याको गाम्भीर्यता बुझे।

रिपोर्टिङ र लेखन च्यालेञ्जका लागि २७ वटा विषयबाट ६ वटा विषय छनोट गरे । ती छनोटमा परेका ६ वटा विषयहरुमा खाद्य सुरक्षाको विषयमा सुगाभवानी, खुला दिशापिसाव र सरसफाइ, संघीयता र स्थानीय विकास, मिथिला कला र सामाजिक अगुवा महिलाको कथा, सरकारी जागिर (सेवा)प्रतिको आकर्षण, पोखरीसँग जोडिएको सांस्कृतिक महत्व रहेका थिए । सहभागीहरूलाई ती ६ वटा विषयहरू गोलाप्रथाबाट निर्धारित गरिएको थियो।

सहभागी ६ जनाले तिनै ६ वटा विषयमा स्थलगत रिपोर्टिङ्ग गरे र तीन दिन भित्रमा समाचार/लेख तयार गरे । स्थानीय समुदायसंग प्रत्यक्ष पारस्परिक   सम्पर्क प्रोत्साहित गर्न रिपोर्टिङग र लेखनका क्रममा गुफास्थलमा ७२ घण्टासम्मै इमेल, इन्टरनेट, टेलिफोन जस्ता आधुनिक सञ्चारका साधन र उपकरणको प्रयोग प्रतिबन्दित थियो । रिपोर्टिङग र लेखनकार्यको लागि अनुसन्धान तथा विज्ञको टोलीले गुफाका सहभागीहरूको प्रत्यक्ष–अप्रत्यक्ष निगरानी (अवलोकन) गरेको थियो। त्यसै गरी मिडियाको प्रयोग र साक्षरताका बारेमा बालबालिकासंग समानान्तर कार्यशालागोष्ठी समेत भएको थियो।

मिडिया गुफाका बारेमा सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय वरिष्ठ पत्रकार कृष्णचन्द्र झा, पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष ईश्वरी पौडेल, ब्रोडक्रास्टिङ्ग एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष गोपाल झा, मिडिया गुफा कार्यक्रमका निर्देशक र मिडिया फाउन्डेसनका सचिव डा धर्म अधिकारी, गुफा संयोजक रजनीश भण्डारी, गुफा आउटरिच अफिसर अरुण राईले पनि आआफ्नो भनाइ राख्नु भएको थियो ।

मंगलबार समापन समारोहमा सहभागीहरूले आआफ्नो अनुभव सुनाएका थिए ।

७२ घण्टे गुफा कार्यक्रमको यो संस्करण मिडिया फाउण्डेसन, भिजन फर नेपाल फाउण्डेसन (वासिंगटन डिसी), इन्स्टिच्युट अफ एडभान्स्ड कम्युनिकेसन, एड्युकेसन एण्ड रिसर्च (आयसर), एजी कन्सल्टिङ प्रा. लि, सप्टनेप,  ब्रोडक्रास्टिङ्ग  एशोसिएसन अफ नेपाल (बान), रेडियो मिथिला, र सुगा भवानी समुदायको सहयोगमा सम्पन्न भएको थियो ।

कार्यक्रमका तस्बीरहरु

Join the Discussion