न्यु मिडिया गुफा २०१३ का लागि पत्रकारको छनौट
Posted on: Aug 25, 2013
न्यु मिडिया गुफा २०१३ का लागि पत्रकारको छनौट
काठमाडौँ, भदौ ९– न्यु मिडिया गुफाका लागि देशका विभिन्न भेगका संचारमाध्यममा कार्यरत ६ जना पत्रकारहरु छनौट हुनुभएको छ ।

गुफाका लागि कास्कीको रेडियो सफलतामा कार्यरत दुर्गा अधिकारी, अन्नपूर्ण पोष्ट दैनिकका रविराज बराल, जागरण मिडिया सेन्टर काठमाडौँका महावीर विश्वकर्मा, उज्यालो नेर्टवर्क काठमाडौँका बोमलाल गिरी, झापाका स्वतन्त्र पत्रकार गोपाल झापाली र रेडियो परिवर्तन बाग्लुङकी कविता मगर छनौटमा पर्नु भएको छ ।

साथै गुफाको यस संस्करणमा वरिष्ठ पत्रकार युवराज घिमिरे गुफामा अतिथिको रुपमा रहनुहुनेछ । उहाँले अन्य सहभागीहरूका साथ गुप्तबासमा रहेर समाचार लेखन गर्नुहुनेछ।

कार्यक्रम आगामी भदौ २३ देखि २६ गते (सेप्टेम्बर ८ देखि ११ तारिख) सम्म काठमाडौँको ठमेलस्थित होटल मण्डपमा हुनेछ ।

देशका विभिन्न भेगमा रहेर पत्रकारीता गरिरहेका एक सय भन्दा बढी पत्रकारहरुका लागि मनोनयन सिफारिस परेकोमा अनलाइन भोटिङका माध्यमबाट प्राप्त गर्नुभएको मतका आधारमा उल्लिखित पत्रकारको छनोट गरिएको हो ।

मनोनित पत्रकारहरुले मिडिया गुफामा ७२ घण्टा एकै स्थानमा रहेर इन्टरनेटको मात्र प्रयोग गरी समाचार लेख तयार पार्नुहुनेछ । त्यस्ता समाचार लेख कुनैपनि ग्रामिण तथा दुर्गम क्षेत्रको हुनुपर्नेछ ।

वरिष्ठ पत्रकार तथा कार्यक्रमका निर्देशक डा. धर्म अधिकारी र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरन्जीवी काफ्लेले गुफा बस्ने पत्रकारहरुको निगरानी राख्नुहुनेछ ।

संचारजगतमा भित्रिएका नयाँ प्रविधि र तीनले समाचार संकलनका दौरान पुर्याउने सहयोग तथा प्रभावबारे थाहा पाउने उद्धेश्यका साथ गुफा आयोजना गर्न लागिएको हो । यो संस्करणमा मूल गुफा बाहेक पत्रकारीतासंग सम्बन्धित विविध विषयवस्तुमाथि एघार वटा जति प्रस्तुति वा अन्तरक्रियाहरु पनि संचालन गरिनेछ । ती कार्यक्रमहरुलाई अनलाइन मार्फत प्रत्यक्ष प्रसारण समेत गरिनेछ ।

कार्यक्रम निर्देशक अधिकारी भन्नुहुन्छ, “यो पत्रकारीतालाई ताजा बनाउने, डिजिटल पत्रकारीतामा हाम्रो दक्षता र प्रवृत्तिहरु नियाल्ने अनि हाम्रो पेशाको उत्सव मनाउने प्रयास हो ।”

कार्यक्रमका संयोजक मल्टिमिडिया जर्नलिष्ट रजनीश भण्डारी भन्नुहुन्छ, “विश्वमा मल्टिमिडिया जर्नलिजमको क्षेत्रमा धेरै प्रयोगहरु भइरहेका छन्, नेपाल त्यसबाट अछुतो रहन सक्दैन । यसपालिको गुफा विगत संस्करण भन्दा पृथक हुनेछ ।”

कार्यक्रम होटल मण्डपसंगको सहकार्यमा मिडिया फाउण्डेसनले आयोजना गर्न लागेको हो ।

 

Join the Discussion

Archive

Like us on Facebook